रामेछाप कृषि, पर्यटन, औद्योगिक मेलामा ६० हजार बढी दर्शकले गरे अवलोकन

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा संचालित ११ दिने कृषि, पर्यटन, औद्योगिक मेला पर्दशनी सकिएको छ । सुरुवातको चार दिन निःशुल्क प्रवेश एवं अवलोकन दिइएको उक्त मेला ६० हजार दर्शक अवलोकन गरेको आयोजक रामेछाप उद्योग वाणिज्य संघले दाबी गरेको छ ।
गए राति चर्चित गायिका रचना रिमालको रोमाञ्चक प्रस्तुतिसँगै सम्पन्न भएको कृषि, पर्यटन तथा औद्योगिक मेला पर्दशनीमा जिल्ला भित्रका कृषकहरूले उत्पादन गरेका कृषि सामाग्री, बाल उद्यान र होटेल तथा पसलहरू राखिएको थियो ।
गएको १६ गते देखि २० गते सम्म निःशुल्क अवलोकन गर्ने व्यवस्था गरिएकोमा उक्त मेलामा १ लाखको हाराहारीमा दर्शकले अवलोकन गरेको संघका महासचिव कुमार श्रेष्ठको भनाई छ , उनका अनुसार ६० हजार दर्शकले अवलोकन गरेका छन् ।
पर्दशनी मेला टिकट लागू भएको पहिलो दिन २० गते ७ सय १९ वटा, दोस्रो दिन २१ गते १ हजार १५ वटा, तेस्रो दिन २२ गते ९ सय ९२, चौथो दिन २३ गते २ हजार ९, पाँचौँ दिन २४ गते ३ हजार २२ वटा, छैटौँ दिन २५ गते ३ हजार र अन्तिम सातौँ दिन २६ गते ३ हजार भन्दा बढी दर्शक टिकट काटेर मेला अवलोकन गर्न प्रवेश गरेको संघले जानकारी दिएको छ । यी दिनहरूमा पनि निःशुल्क प्रवेश गर्नेको सङ्ख्या धेरै रहेकाले सङ्ख्य थप धेरै रहेको महासचिव कुमार श्रेष्ठको भनाई छ ।
२० गतेदेखि साँझ ५ बजेपछिको समय ठेकेदारको अनुकूलमा चल्दा जिल्लाको आर्थिक बाहिरिएको भनिए पनि गीत सङ्गीतको मध्यमबाट दर्शकहरूले मनोरञ्जन लिएको संघको तर्क छ ।
स्थानीय कला, संस्कृति र नयाँलाई प्रोत्साहन गर्न विविध कार्यक्रमहरू सञ्चालन गरिएकाले संघले कला संस्कृतिको संरक्षणमा भूमिका खेलेको दाबी समेत गरेको छ । साथै, बजारीकरणमा टेवा पुगेको र कृषकहरूले उत्पादन गरेका सामाग्रीको प्रचारप्रसार भएको आयोजकको अनुमान रहेको छ ।
जिल्लाका सबै स्थानीय तहसँगै उद्योग वाणिज्य कार्यालय र प्रदेश सरकारको समेत आर्थिक सहयोगमा संचालित कृषि पर्दशनीमा आधा भन्दा स्टल बढी खाली भएको, जिल्लाको कृषि उपज राम्रोसँग नराखिएको, कारोबार नभएको लगायत विविध विषयले आलोचना खेपे पनि कृषिकहरुलाई निःशुल्क स्टल उपलब्ध गर्नुका साथै उनीहरूलाई पुरस्कृत, सम्मान र निःशुल्क खानाको व्यवस्था गरेरको थियो ।
विविध कारणले सुस्ताएका व्यापार व्यवसायलाई चलायमान बनाउन प्रयास गर्दा केही प्राविधिक कारणले स्टलहरू खाली हुन पुगेको आयोजकको दाबी छ । मेलामा आएका कृषकहरू भने खुसी र सन्तुष्ट रहेको संघको दावि छ ।
२५ लाख खर्च लाग्ने पूर्व अनुमानसहित सुरु भएको मेलामा भएको कारोबार एवं नाफा, घाटा बारे भने संघले केही समयपछि मात्रै जानकारी गराउन सक्ने भनेको छ ।
गत १६ गते बुधबार उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैध्यले उद्घाटन गरेर सुरु भएको पर्दशनी मेलाको ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले शनिबार दिउँसो सम्पन्न गरेका थिए ।



