शुक्रवार मात्रै रामेछाप–काठमाडौँ उडान

रामेछाप । रामेछाप–काठमाडौँ–रामेछाप हप्ताको प्रत्येक शुक्रबार मात्रै हवाई उडान हुने भएको छ । रामेछाप विमानस्थलबाट यसअघि हप्ताको तीन दिनसम्म हवाई सेवा दिइँदै आएको भए पनि अहिले चाडपर्व सकिएको र सडक यात्रा सहज बन्दै गएपछि यात्रुको चाप घटेको कारण हप्तामा एक दिन मात्रै उडान सञ्चालन गर्ने सहमति भएको शान्ति दीप युवा क्लबका अध्यक्ष सुरेश उदासले बताए ।
उदासको संयोजकत्वमा बिहीबार नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि र रामेछाप–काठमाडौँ हवाई सेवा सञ्चालन गर्ने विमान कम्पनीका प्रतिनिधिहरूबिच बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कार्तिक १४ गतेदेखि प्रत्येक शुक्रवार रामेछाप–काठमाडौँ–रामेछाप नियमित हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ।
उनका अनुसार हालको अवस्था र यात्रुको आवश्यकतालाई ध्यानमा राख्दै हप्ताको एक दिन नियमित सेवा सञ्चालन गर्ने निर्णय भएको छ । निर्णय अनुसार कार्तिक १४ गते (शुक्रवार) सीता एयर, कार्तिक २१ गते (शुक्रवार) तारा एयर र कार्तिक २८ गते (शुक्रवार) समिट एयरले रामेछाप–काठमाडौँ उडान गर्नेछन् । यो तालिका प्रत्येक महिनाको पहिलो हप्तादेखि क्रमशः लागू हुने बैठकमा निर्णय भएको छ ।



				
					


