एआई प्रविधिले पत्रकारितालाई सशक्त बनाउने उद्देश्यसहित मन्थलीमा तालिम सम्पन्न

रामेछाप । पत्रकारितामा प्रविधिको प्रयोग बढाउँदै स्थानीय सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ मन्थलीमा तीन दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ । बागमती प्रदेश सञ्चार रजिष्ट्रारको आयोजनामा तथा नेपाल पत्रकार महासङ्घ रामेछापको सहकार्यमा आयोजित तालिममा जिल्लाका २७ भन्दा बढी पत्रकार सहभागी थिए ।
तालिममार्फत पत्रकारितामा एआईको प्रयोगले समाचार उत्पादनलाई कसरी प्रभावकारी, छरितो र विश्वसनीय बनाउन सकिन्छ भन्ने विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । समाचार सङ्कलन, लेखन, सम्पादन तथा तथ्य जाँचमा एआईको उपयोगसँगै फोटो, भिडियो, अडियो तथा भिजुअल सामग्री निर्माणसम्बन्धी अभ्यास गराइएको आयोजकले जनाएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले प्रविधिमैत्री पत्रकारिताले सुशासन मजबुत बनाउने धारणा व्यक्त गरे । तथ्य र प्रमाणमा आधारित समाचारले शासन प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने उल्लेख गर्दै उनले स्थानीय तहका पत्रकारहरूले पनि विश्वस्तरीय कार्यसम्पादन गर्न सक्ने क्षमताको विकास आवश्यक रहेको बताए ।
बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले एआईलाई पत्रकारको प्रतिस्पर्धी नभई सहायक उपकरणका रूपमा बुझ्नुपर्नेमा जोड दिए । स्थानीय घटना, सामाजिक यथार्थ, प्रत्यक्ष रिपोर्टिङ, फोटो र भिडियो सङ्कलनको काम मानव पत्रकारले मात्रै गर्न सक्ने भन्दै उनले प्रविधिको सही प्रयोगले पत्रकारिता अझ प्रभावशाली बन्ने बताए ।
उनले विकसित राष्ट्रहरूले नागरिकको बौद्धिक क्षमतामा लगानी गरेर प्रगति हासिल गरेको उदाहरण प्रस्तुत गर्दै सञ्चार क्षेत्र पनि ज्ञान र सीपमा आधारित हुनुपर्ने आवश्यकता औँल्याए । सञ्चार निरन्तर चलिरहने प्रक्रिया भएकाले दक्ष र जिम्मेवार पत्रकारको भूमिका कहिल्यै समाप्त नहुने उनको भनाइ थियो ।
तालिमको सहजीकरण गोरखापत्र दैनिकका उपसम्पादक अजय आचार्य तथा अडियो–भिडियो भिजुअल इन्डलेस सोलुसनका अध्यक्ष शिव पुरीले गरेका थिए ।



