Trending

उमाकुण्डमा बाल विकास शिक्षकका लागि पाँचदिने आवासीय तालिम सुरु

रामेछाप । उमाकुण्ड गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पाँचदिने आवासीय तालिम सुरु गरेको छ। सिद्धेश्वर माध्यमिक विद्यालय बाम्तीको सभाहलमा सुरु भएको तालिम पुस १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ङवा शेर्पाले जानकारी दिएका छन्।

सञ्चालन भएको तालिमलाई औपचारिक उद्घाटन सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मलप्रसाद त्रिपाठीको अध्यक्षतामा तथा वडा नं। २ का वडा अध्यक्ष खम्बाध्वज बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप बस्नेत, समिति सदस्य गोर्मान दर्जी तथा सिट नेपाल (CIT Nepal) का फिल्ड को–अर्डिनेटर अनिल बस्नेतको उपस्थिति रहेको थियो।

तालिमको मुख्य उद्देश्य प्रारम्भिक बाल शिक्षाको गुणस्तर सुधार गर्दै बाल विकास शिक्षकहरूको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्नु रहेको छ। तालिममा प्रारम्भिक बाल शिक्षाको अवधारणा, बाल विकास कक्षामा सिकाइका क्षेत्र, बालमैत्री शिक्षण–सिकाइ विधि, मूल्यांकन प्रणाली, कक्षाकोठा व्यवस्थापन, खेल तथा सिर्जनात्मक गतिविधि, कक्षा १ का शिक्षकसँग समन्वय, अभिभावक शिक्षा तथा बैठक सञ्चालनलगायत विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिनेछ।

तालिमका क्रममा सामुदायिक मण्टेश्वरी सिकाइ केन्द्र र सिद्धेश्वर माध्यमिक विद्यालय बाम्तीका बाल विकास कक्षाको अनुगमनसमेत गरिने छ। प्रत्यक्ष अवलोकन र अभ्यासमार्फत शिक्षकहरूको व्यवहारिक क्षमता थप सुदृढ बनाउने लक्ष्य रहेको आयोजकले जनाएको छ।

तालिममा सामुदायिक मण्टेश्वरी सिकाइ केन्द्र बाम्तीका सहजकर्ता बबिता कार्की र फुर्ल्हाकी शेर्पाले प्रशिक्षकका रूपमा सहजीकरणमा संचालन भएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष बस्नेतले प्रारम्भिक बाल शिक्षाले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै बाल विकास शिक्षकको भूमिका झनै संवेदनशील र जिम्मेवार रहेको धारणा राखे। उनले यस्ता तालिमले शिक्षकहरूको दक्षता वृद्धि भई बालबालिकाको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

तालिम कार्यक्रममा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत ४० जना बाल विकास शिक्षकहरूको सहभागिता रहेको छ। सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button