वीरगञ्ज महानगरमा निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रभित्र आज दिउँसोदेखि निषेधाज्ञा लागू गरेको छ।
महानगर क्षेत्रमा दुई समुदायबीच सम्भावित झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पछिल्लो समय यहाँ विभिन्न विरोध प्रदर्शनका कार्यक्रमहरू भइरहेकाले शान्ति सुरक्षा कायम राख्न यो कदम चालिएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश जारी नभएसम्म वीरगञ्ज महानगर क्षेत्रमा चार किल्ला तोकी निषेधाज्ञा लागू गरिएको छ। निषेधाज्ञाअन्तर्गत कुनै पनि प्रकारका सभा, सम्मेलन, जुलुस, प्रदर्शन तथा भेला गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
निषेधाज्ञा लागू गरिएको क्षेत्र पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावर हाउसचोक र दक्षिणमा शङ्कराचार्यगेटसम्म तोकिएको छ।
प्रमुख जिल्ला अधिकारी दाहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको स्पष्ट पार्नुभयो। उहाँले आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
जिल्ला प्रशासनले सर्वसाधारणलाई संयमता अपनाउन र शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न आग्रह गरेको छ। रासस



