लेयर्स कुखुरा अण्डाको मूल्य घट्यो

चितवन । अण्डाको मूल्य क्रमशः घट्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्मस्तरमा लिइएको दररेटलाई एकीकृत गर्दै आजबाट लागू हुने गरी अण्डाको समर्थन मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाएको जनाएको छ ।
सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटाको) ५६५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँमा झरेको छ । यस्तै, मिडियम अण्डाको मूल्य पनि ५५० रुपैयाँबाट घटेर ४६० रुपैयाँमा झरेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले ठूला फार्महरूबाट प्राप्त दररेटका आधारमा समर्थन मूल्य निर्धारण गरिएको जानकारी दिए । मूल्य घटेसँगै उपभोक्ता तहमा अण्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँबाट घटेर २० रुपैयाँमा झरेको छ ।
बढ्दो जाडोका कारण काठमाडौँ उपत्यका तथा हिमाली भेगमा विद्यालय बन्द हुनु, समग्र गतिविधि कम हुनु, पर्यटक आगमन घट्नु र अण्डाको मूल्य अझ राम्रो पाइने अपेक्षामा किसानहरूले कुखुरा बिक्री नगरी अण्डा उत्पादन निरन्तर राख्नुजस्ता कारणले बजारमा खपत घटेको सङ्घले जनाएको छ ।
पहिलेको तुलनामा हाल खपत कम र उत्पादन बढी भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले जाडो कम भई जनजीवन सहज बन्दै गएपछि पुनः अण्डाको माग बढ्ने विश्वास व्यक्त गरे । उनका अनुसार अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउने भएकाले किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः मूल्य घट्दा किसान थप नोक्सानमा पर्ने अवस्था सिर्जना भएको उनले बताए ।
सङ्घले बजारको अवस्था र माग–आपूर्तिको सन्तुलनअनुसार अण्डाको समर्थन मूल्य समय–समयमा समायोजन गर्दै आएको जनाएको छ ।


