Trending

पार्टी फुट्नु हुन्न फुटे जता रुख उतै दिपक : सचिव खड्का

रामेछाप । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते काठमाडौँमा आयोजना हुन लागेको विशेष महाधिवेशनलाई लक्षित गर्दै राजधानीमा व्यापक जनप्रदर्शनको तयारी भइरहेका बेला पार्टीभित्र आन्तरिक बहस र धारणा सार्वजनिक हुन थालेका छन् ।
महाधिवेशनलाई लिएर ‘जेन–जी आन्दोलन’को नाममा पार्टी नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग उठिरहेका छन् । तर, कांग्रेसभित्र सबै नेता–कार्यकर्ता एउटै धारमा छैनन् । यही सन्दर्भमा नेपाली कांग्रेस रामेछापका वर्तमान सचिव दीपक खड्काले पार्टी फुटतर्फ होइन, एकताका पक्षमा उभिनुपर्ने स्पष्ट धारणा राखेका छन् ।
खड्काले कुनै पनि गुट वा पक्षलाई समर्थन नगर्ने बताउँदै पार्टीप्रतिको निष्ठा र “रुख”प्रतिको माया आफूले कहिल्यै नछाड्ने बताए । “पार्टी फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ,” उनले भने, “नेताले जे गरे पनि कार्यकर्ताले मान्नैपर्छ भन्ने दास मानसिकता अन्त्य हुन जरुरी छ ।”
उनले दुवै पक्षको अहंकार र ‘मेरो गोरुको बाह्रै टक्का’ प्रवृत्तिले पार्टी फुटे मुलुककै लागि दुर्भाग्य हुने चेतावनी दिए । “त्यो कुरा हामीभन्दा माथिल्लो तहमा रहेका नेताहरूले पनि बुझ्नुभएको होला,” खड्काको भनाइ छ, “मेरो चाहना एउटै हो—पार्टी नफुटोस् ।”
तल्लो तहका कार्यकर्ताको भावना व्यक्त गर्दै उनले कांग्रेस एकढिक्का भएर मुलुक र जनताको भविष्य निर्माणको अभियानमा जुट्नुको विकल्प नभएको बताए । सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्नुलाई दुवै पक्षलाई समर्थन गरेको रूपमा व्याख्या गरिए पनि उनले त्यसलाई अस्वीकार गरे । “मेरो चिन्ता माथिल्लो तहका नेताको होइन, जिल्लाको तल्लो तहमा काम गर्ने नेता–कार्यकर्ताको गुनासो र समस्या सुन्ने हो,” उनले स्पष्ट पारे ।
कसैलाई उक्साउने वा दबाउने भूमिकामा आफू नरहने उल्लेख गर्दै खड्काले आफू मताधिकार नभएको अवस्थामा अनावश्यक रूपमा ‘उफ्रनु’ ठीक नलागेको धारणा राखे । “त्यसैले अहिले ‘पर्ख र हेर’को अवस्थामा छु,” उनले भने ।
विशेष महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र देखिएको यो बहसले पार्टीको भावी दिशा, नेतृत्व शैली र एकताको प्रश्नलाई थप पेचिलो बनाएको छ । उनले भने छिटो भन्दा छिटो पुर्ण महाधिवेशन हुनु पर्छ म यहिँ पक्षमा छु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button