लिखुतामाकोशीमा संचालित शिविरबाट १४३ जना लाभान्वित

रामेछाप । स्थानीय स्तरमै राज्यको सेवा पुरÞ्याउने उद्देश्यका साथ आयोजित एक विशेष शिविरमा १ सय ४३ जनालाई अपाङ्गता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ। लिखुतामाकोशी गाउँपालिकाका ७ वटै वडामा सञ्चालित ‘अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्र वितरण एवं शिविर’ मार्फत लक्षित वर्गलाई सो सुविधा प्रदान गरिएको हो।
शिविर कार्यक्रम प्रमुख अरुण खड्काका अनुसार लक्षित वर्गको अधिकार सुनिश्चित गर्न र राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता एवं अन्य सहुलियतहरूमा सहज पहुँच पुरÞ्याउन यो शिविर कोशेढुङ्गा साबित भएको छ। उनले परिचयपत्रको सही सदुपयोग गर्दै सरकारी सेवा सुविधाहरू लिन सबैलाई आग्रह समेत गरे।
प्राप्त तथ्याङ्क अनुसार कुल १३२ जना ज्येष्ठ नागरिकले परिचय पत्र प्राप्त गरेका छन्। जसमा ६९ जना महिला र ६३ जना पुरुष रहेका छन्। घरआँगनमै परिचय पत्र पाउँदा वृद्धवृद्धाहरूले खुसी व्यक्त गरेका छन्।
त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि वर्गीकरण अनुसार परिचय पत्र वितरण गरिएको छ। कुल ११ जना (३ महिला र ८ पुरुष) लाई अपाङ्गताको प्रकृति हेरी परिचय पत्र प्रदान गरिएको हो। ’क’ वर्ग (पूर्ण अशक्त)ः १ जना, ’ख’ वर्ग (अति अशक्त)ः ५ जना, ’ग’ वर्ग (मध्यम)ः २ जना र ’घ’ वर्ग (सामान्य)ः ३ जनाले उक्त सेवा लिए ।
पौष २० गते देखि २६ गतेसम्म सञ्चालित उक्त शिविरमा परिचय पत्र वितरणका साथै आवश्यक परामर्श समेत प्रदान गरिएको थियो। स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र समाजसेवीहरूको सक्रिय उपस्थिति रहेको उक्त कार्यक्रमले सरकारी सेवालाई नागरिकको घरदैलोसम्म पुरÞ्याउन सफल भएको स्थानीयहरूको बुझाइ छ।



