Trending

सार्वजनिक सुनुवाईमा वडाध्यक्षको प्रशंसा

रामेछाप । रामेछाप नगरपालिका वडा नं. ७ मा आयोजित सार्वजनिक सुनुवाइ केवल औपचारिक कार्यक्रम बनेन। दुई सयभन्दा बढी नागरिकको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा उठेका सवाल, व्यक्त भएका सन्तुष्टि र केही आलोचनात्मक आवाजले स्थानीय सरकारको कार्यसम्पादनमाथि प्रत्यक्ष जनमूल्याङ्कन प्रस्तुत ग¥यो। वडाको सेवा प्रवाह र विकास निर्माणप्रति नागरिकको भरोसा बढ्दो छ, र यसको केन्द्रमा थिए युवा वडाध्यक्ष समीर कार्की।
आर्थिक वर्ष २०८२÷०८३ को दोस्रो चौमासिकसम्म भएका गतिविधिबारे जानकारी गराउन आयोजना गरिएको सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि र नगरपालिकाका अधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो। वडा कार्यालयकै परिसरमा आयोजित कार्यक्रममा नागरिकले खुलेर प्रश्न सोधे, सुझाव दिए र गुनासा राखे। कार्यक्रमभर देखिएको सक्रिय सहभागितिले वडा सरकारप्रति बढेको चासो र अपेक्षालाई संकेत गथ्र्यो।
दैनिक प्रशासनिक सेवामा आएको सुधार नै नागरिकले सबैभन्दा धेरै चर्चा गरेको विषय थियो। जन्म, मृत्यु र बसाइँसराइ दर्ता, सिफारिसजस्ता काममा ढिलाइ घटेको, कर्मचारीको व्यवहार सहयोगी बनेको र कार्यालय धाउँदा अनावश्यक झन्झट नहुने अनुभव अधिकांशको साझा धारणा बन्यो।
स्थानीय बासिन्दा दीपककुमार कार्कीले भने, “अहिले सेवा लिन जाँदा कार्यालयले जिम्मेवारी लिन्छ भन्ने अनुभूति हुन्छ। विकास निर्माण पनि अघि बढेको छ।” यस्ता प्रतिक्रियाले वडा कार्यालयप्रतिको विश्वास बलियो बन्दै गएको देखाउँछन्।
कार्यक्रमको केन्द्रमा रहेका वडाध्यक्ष समीर कार्कीप्रति नागरिकको ध्यान केवल उमेरका कारण होइन, कार्यशैलीका कारण केन्द्रित देखिन्थ्यो। नागरिकका प्रश्नको जवाफ दिने क्रममा उनले देखाएको संयम, स्पष्टता र तथ्यमा आधारित प्रस्तुतीले कार्यक्रमलाई प्रभावकारी बनाएको सहभागीहरूको भनाइ थियो।
अघिल्लो कार्यकालमा जनप्रतिनिधि रहेकी ज्ञानुदेवी बस्नेतले वर्तमान नेतृत्वको प्रशंसा गर्दै भनिन्, “नेतृत्व सही भए वडा आफैं सुध्रिन्छ। अहिले त्यो अवस्था देखिन थालेको छ।” अनुभवी व्यक्तिबाट आएको यस्तो टिप्पणीले युवा नेतृत्वप्रति बढ्दो स्वीकार्यता झल्काउँछ।
कृषिप्रधान वडा भएकाले सार्वजनिक सुनुवाइमा उठेका धेरै प्रश्न कृषि र पशुपालनसँग सम्बन्धित थिए। सिँचाइको अभाव, उत्पादन लागत र बजारको अनिश्चितताले युवाहरू गाउँ छोड्न बाध्य हुने खतरा सार्वजनिक सुनुवाइमा औंल्याइएको थियो।
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले सिँचाइ र खानेपानीलाई दीर्घकालीन प्राथमिकता बनाउनुपर्नेमा जोड दिएका थिए। “आज लगानी नगरे भोलि गाउँ खाली हुन सक्छ,” तसर्थ नगरपालिकाले वडासँग सहकार्य गरेर उत्पादनमुखी क्षेत्रमा लगानी बढाउने छ”, उनले भने।
वडाध्यक्ष कार्कीले पनि कृषि र स्थानीय उत्पादनलाई योजनाको केन्द्रमा राख्ने बताए। “किसानको आय नबढेसम्म वडाको समृद्धि सम्भव हुँदैन,” उनको भनाइ थियो।
सार्वजनिक सुनुवाइ प्रशंसामा मात्र सीमित रहेन। नेकपा एमालेका प्रतिनिधि महेश कार्कीले केही विकास आयोजना ढिलाइ भएको र सुझाव कार्यान्वयनमा कमजोरी रहेको टिप्पणी गरे। लोकतान्त्रिक अभ्यासको हिस्सा बनेको यस आलोचनालाई वडाध्यक्षले अस्वीकार गरेनन्।
“नागरिकको आलोचना नै मेरो काम सुधार्ने आधार हो,” वडाध्यक्ष कार्कीले प्रतिक्रिया दिए। उनको यो अभिव्यक्तिले स्थानीय तहमा आलोचना स्वीकार्ने राजनीतिक संस्कार बलियो बन्दै गएको संकेत दिएको सहभागीहरूको टिप्पणी थियो।
सुनुवाइमा वडाध्यक्षले केही महत्वाकांक्षी योजनाको खाका पनि प्रस्तुत गरे। लामो समयदेखि अधुरो रहेको कभर्ड हललाई पूर्णता दिएर राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्ने र सिन्धुलीको गोलन्जोर जोड्ने सुनकोसी नदीको पुल निर्माणका लागि पहल गर्ने योजना रहेको उनले बताए। खेलकुद र पूर्वाधारलाई विकासको साधन बनाउने उनको दृष्टिकोणले युवालाई आकर्षित गरेको देखिन्थ्यो।
रामेछाप–७ को सार्वजनिक सुनुवाइले स्थानीय सरकार कस्तो हुनुपर्छ भन्ने प्रश्नमा एउटा सम्भावित उत्तर दिएको छ । नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, सेवा प्रवाहमा सुधार गर्ने र आलोचनालाई सुधारको अवसर ठान्ने नेतृत्व। वडाध्यक्ष समीर कार्कीप्रति देखिएको जनविश्वास र अपेक्षाले स्थानीय तहमा युवा नेतृत्वको सम्भावनालाई उजागर गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button