Trending

गौश्वाराबासीको एउटै माग : सडक बिना विकास असम्भव

अप्रिल अधिकारी, रामेछाप (गौश्वारा) । रामेछाप जिल्लाको दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वाराका स्थानीयवासीले सडक पूर्वाधारलाई विकासको पहिलो सर्तका रूपमा अघि सारेका छन् । विभिन्न सरकार र व्यवस्था फेरिँदा पनि गौश्वाराको अवस्था नबदलिएको भन्दै स्थानीयले सडक निर्माणमा राज्यको गम्भीर ध्यान नपुगेको गुनासो गरेका छन् ।

स्थानीय रोशन थापा मगरका अनुसार सरकार फेरिँदै गए, व्यवस्था परिवर्तन हुँदै संघीयता आयो, स्थानीय सरकार समेत बने, तर गौश्वारा सधैँ विकासको ओझेलमै पर्‍यो । ‘धेरै सरकार आए–गए, तर हाम्रो अवस्था उस्तै रह्यो,’ उनले भने, ‘सामान्य चित्त बुझाउने खालको विकास पनि देख्न पाइएन ।’

त्यस्तै, स्थानीय कुलबहादुर मगरले संघीय संरचनाबाट अपेक्षित परिवर्तन नआएको बताए । ‘संघीयता आयो, स्थानीय सरकार पनि बन्यो, तर गौश्वाराको स्तर कहिल्यै माथि उठ्न सकेन,’ उनले भने, ‘आज पनि हामी दुर्गमकै सूचीमा छौँ ।’

नेपाली कांग्रेस रामेछापका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्कासँगको भेटघाटका क्रममा स्थानीयवासीले एकै स्वरमा सडक निर्माणको माग राखेका थिए । उनीहरूले विकास भनेको गौश्वाराका लागि सडक नै भएको भन्दै त्यसतर्फ पहल गर्न आग्रह गरे ।

स्थानीय मानबहादुर श्रेष्ठले उपयुक्त सडक नहुँदा दैनिक आवतजावतदेखि आयात–निर्यातसम्ममा समस्या भोग्नुपरेको बताए । ‘सडक नहुँदा गाउँ सधैँ दुर्गम बनिरह्यो,’ उनले भने, ‘सडक बने दुर्गम गाउँको पहिचान केही हदसम्म त हट्नेछ ।’

सडक नपुगेको अवस्थामा अन्य विकासको कल्पना गर्न नसकिने स्थानीयको भनाइ छ । ‘गाउँसम्म सहज रूपमा मोटर चल्न सके, त्यो नै हाम्रो लागि ठूलो उपलब्धि हुनेछ,’ एक वृद्ध स्थानीयले भने, ‘नेताज्यू, अरू केही चाहिँदैन, सडक बनाइदिनुस् ।’

स्थानीयको गुनासो सुनेपछि प्रतिनिधिसभा उम्मेदवार खड्काले चुनाव जिते पनि हारे पनि सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए । ‘कहाँ धर्ना बस्नुपर्छ, म बस्न तयार छु,’ उनले भने, ‘आवश्यक परे तपाईँहरूको साथ पनि माग्नेछु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button