नागरिकको घरदैलोमै चिकित्सक र औषधि

रामेछाप । रामेछापमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले पछिल्लो समय स्वास्थ्य सेवाको परिभाषा नै बदल्ने प्रयास गरेको छ। सामान्यतया बिरामी अस्पताल पुग्ने परम्परा रहे पनि यो चिकित्सालयले भने चिकित्सक र औषधिसहितको टोलीलाई नागरिकको घरदैलोमै पु¥याएर सेवा दिन थालेको छ। यसअघि गाउँ–गाउँमा पुगेर केवल स्वास्थ्य परामर्श र सामान्य चेकजाँचमा सीमित रहेको यो अभियान अहिले ‘उपचारसहितको घरदैलो’ मा रूपान्तरण भएको छ, जसले अस्पतालसम्म पुग्न नसक्ने अशक्त र विपन्न नागरिकका लागि ठूलो राहतको सञ्चार गरेको छ।
चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीका अनुसार यो सेवालाई व्यवस्थित बनाउन साप्ताहिक कार्यतालिका नै निर्माण गरिएको छ। हरेक बिहीबार मन्थली र यसको आसपासका ग्रामीण बस्तीहरूमा स्वास्थ्यकर्मीको टोली पुग्ने गर्दछ, जहाँ चिकित्सकहरूले बिरामीको नाडी परीक्षण गर्नेदेखि लिएर उनीहरूको समस्या अनुसारको आयुर्वेदिक औषधि समेत निःशुल्क वितरण गर्ने गर्दछन्। गाउँस्तरमा सञ्चालन गरिएका यी शिविरहरूका क्रममा नसर्ने रोगको भयावह तस्बिर बाहिर आएको छ। विशेषगरी खानपान र बदलिँदो जीवनशैलीका कारण मधुमेह र उच्च रक्तचापका बिरामीहरू घर–घरमै भेटिन थालेका छन् भने ग्रामीण भेगका नागरिकमा हाडजोर्नी दुख्ने, शरीर सुन्निने र पेटसम्बन्धी समस्याहरू पनि जटिल रूपमा देखिएका छन्।
बस्तीस्तरमा सेवा विस्तार गरेकै कारण अहिले मुख्य चिकित्सालयमा पनि बिरामीको चाप उल्लेख्य रूपमा बढ्न थालेको छ। गाउँमा प्रारम्भिक जाँच गराएका बिरामीहरू थप विशिष्टीकृत सेवाका लागि सदरमुकामस्थित अस्पतालमा आउने क्रम बढेको हो। चिकित्सालयले हाल विशेषज्ञ चिकित्सकीय सेवा मात्र नभई आयुर्वेदको विशिष्ट उपचार पद्धति पञ्चकर्म र पूर्वकर्म अन्तर्गतका मालिस, सिरोधारा, नस्यकर्म जस्ता थेरापीहरू पनि उपलब्ध गराइरहेको छ। यसका साथै आधुनिक प्रविधिको प्रयोग गर्दै फिजियोथेरापी, अकुपञ्चर र ल्याब सेवालाई पनि सँगै लगिएको छ, जसले गर्दा आयुर्वेदिक उपचार पद्धतिप्रति मानिसको विश्वास झन् गाढा बन्दै गएको देखिन्छ।
नागरिकको स्वास्थ्यप्रति थप जिम्मेवार बन्दै चिकित्सालयले हरेक सोमबार बिहान ’होलबडी चेकअप’ सेवा पनि सुरु गरेको छ। यसले गर्दा रोग लाग्नुपूर्व नै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन चाहनेहरूलाई सजिलो भएको छ। स्थानीय तहसँगको समन्वयमा पालिका स्तरमै शिविरहरू लैजाने र दुर्गमका बासिन्दालाई आयुर्वेदको महत्व बुझाउने कार्यले समग्र जिल्लाको स्वास्थ्य सूचकांकमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। गाउँमै चिकित्सक देख्न पाउँदा र हातैमा औषधि प्राप्त गर्दा स्थानीय बासिन्दाले राज्यको उपस्थिति महसुस गर्न पाएका छन्, जसले गर्दा यो अभियान एउटा सफल स्वास्थ्य मोडलका रूपमा स्थापित हुँदै गएको छ।



