रामेछाप अस्पताल उत्कृष्टतर्फ उकालो : एमएसएसमा ९३ अंकसहित बागमती प्रदेशका अस्पतालमध्ये अग्रस्थानमा

रामेछाप । रामेछाप अस्पतालले सेवाग्राहीको विश्वास जित्दै स्वास्थ्य सेवा सुधारतर्फ उल्लेखनीय फड्को मारेको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले २०८२ माघ २७, २८ र २९ गते गरेको मूल्याङ्कनअनुसार अस्पतालले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard–MSS) कार्यान्वयनमा १ सय पूर्णाङ्कमध्ये ९३ अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेको हो।
बागमती प्रदेशअन्तर्गतका दश जिल्लामा रहेका प्रदेश अस्पतालहरूमध्ये रामेछाप अस्पतालले उच्च अंकसहित उत्कृष्ट अस्पतालको रूपमा स्थान बनाउन सफल भएको जनाएको छ। क्लिनिकल अडिटतर्फ समेत ७५ प्रतिशत अंक प्राप्त गर्दै अस्पतालले सेवा गुणस्तर सुधारमा निरन्तर प्रगति गरिरहेको संकेत दिएको छ।
प्रदेशस्तरीय प्राविधिक टोलीले सेवा प्रवाह, व्यवस्थापन प्रणाली, औषधि आपूर्ति, संक्रमण नियन्त्रण, अभिलेख व्यवस्थापन, पूर्वाधार र बिरामी सुरक्षालगायत विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरेको थियो। सो मूल्याङ्कनमा प्राप्त उपलब्धिले अस्पतालको नेतृत्वदायी भूमिका, कर्मचारीहरूको मेहनत तथा सेवाग्राही ९बिरामी० हरूको भरोसालाई थप बल पुगेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालले पछिल्ला वर्षहरूमा सेवा विस्तार, उपकरण व्यवस्थापन, जनशक्ति सुदृढीकरण र सेवामैत्री वातावरण निर्माणमा जोड दिँदै आएको छ। सेवाग्राहीको मन जित्दै भरोसा बढाउँदै गएको परिणामस्वरूप छोटो समयमै यस्तो सफलता हात पार्न सम्भव भएको अस्पताल स्रोतको दाबी छ।
अस्पताल प्रशासनले गुणस्तरीय, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा पनि सेवा सुधारका कार्यक्रमलाई अझ सशक्त रूपमा अघि बढाइने जनाएको छ।
उपलब्धि सार्वजनिक कार्यक्रममा उपस्थित सम्बन्धित सरकारी निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूलाई अस्पताल परिवारले धन्यवाद ज्ञापन गरेको छ। जिल्लामा स्वास्थ्य सेवा सुदृढीकरणका दृष्टिले यो उपलब्धि महत्वपूर्ण मानिएको छ।



