कार्यसम्पादन मूल्याङ्कनमा मन्थली नगरपलिका जिल्लाकै अब्बल

रामेछाप । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा रामेछापको मन्थली नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तहका रूपमा उभिएको छ। ७५ .०८ अंक प्राप्त गर्दै मन्थली नगरपालिका पहिलो भएको हो।
आयोगले वित्तीय अनुशासन, बजेट कार्यान्वयनको समयबद्धता, राजस्व परिचालन, बेरुजु फछ्र्यौट, सेवा प्रवाहको प्रभावकारिता तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधारलगायत सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ। ती सूचकमा मन्थलीले सन्तोषजनक प्रदर्शन गर्दै अग्रस्थान सुरक्षित गरेको हो।
रामेछाप नगरपालिका ६६.४६ अंक सहित दोस्रो स्थानमा रहेको छ, भने ६३.८४ अंक प्राप्त गरेको उमाकुण्ड गाउँपालिका तेस्रो स्थानमा देखिएको छ। सुनापती गाउँपालिकाले ५९.८० अंक पाएको छ भने गोकुलगंगा ५६.७६ र खाँडादेवी गाउँपालिकाले ५६.२० अंक हासिल गरेका छन्।
त्यस्तै दोरम्बा शैलुङ गाउँपालिका ५१.७२ अंक रहेको छ। लिखु तामाकोसी गाउँपालिकाले भने ४९.३४ अंक मात्रै प्राप्त गरेको छ।
प्रतिवेदनले मन्थली र रामेछाप नगरपालिका बाहेक अन्य गाउँपालिकाले वित्तीय व्यवस्थापन, सेवा प्रवाह र प्रशासनिक कार्यकुशलतामा अझ सुधार गर्नुपर्ने संकेत गरेको छ। स्थानीय तहबीच बढ्दो प्रतिस्पर्धाका बीच सार्वजनिक सेवा प्रभावकारिता र वित्तीय पारदर्शितालाई थप सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।



