८०१ सदस्यीय विशाल युवा परिचालन समिति विस्तार

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न निर्वाचनको तयारीलाई लक्षित गर्दै आफ्नो सांगठनिक संरचनालाई तल्लो तहसम्मै मजबुत बनाउने अभियान सुरु गरेको छ। यसै सिलसिलामा पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउने मुख्य संकल्पका साथ जिल्लास्तरमा विशाल युवा परिचालन समिति गठन गरिएको छ। युवा नेता संजय बुढाथोकीको संयोजकत्वमा गठित उक्त विशेष युवा परिचालन समितिलाई अहिले जिल्लाका सबै वडाहरूमा विस्तार गर्दै ८ सय १ सदस्यीय बनाइएको हो।
जिल्लाका ६४ वटै वडाका सक्रिय र उर्जावान युवाहरूलाई समेटेर बनाइएको यो समितिले पार्टीको चुनावी रणनीतिलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ। समितिका संयोजक बुढाथोकीका अनुसार यो समिति केवल सङ्ख्यामा मात्र ठुलो नभई कार्यक्षेत्रमा पनि उत्तिकै प्रभावकारी रहने गरी निर्माण गरिएको हो। प्रत्येक वडाबाट पार्टीप्रति निष्ठावान र सामाजिक रूपमा सक्रिय युवाहरूलाई छनोट गरी उनीहरूलाई जिम्मेवारी बाँडफाँड गरिएको छ। यसरी वडास्तरसम्मै युवाहरूको सञ्जाल विस्तार भएपछि अब काँग्रेसको चुनावी अभियानले जिल्लाभरि नयाँ गति लिने देखिएको छ।
यो समितिको मुख्य उद्देश्य संगठन सुदृढीकरणसँगै घरदैलो अभियानलाई व्यवस्थित बनाउनु रहेको छ। समितिमा आबद्ध युवाहरूले अब जिल्लाका प्रत्येक बस्ती र टोलमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्नेछन्। उनीहरूले पार्टीका उम्मेदवार रामचन्द्र खड्काका योजना र पार्टीको एजेन्डाबारे सर्वसाधारणलाई प्रस्ट पार्ने जिम्मेवारी पाएका छन्। प्रचार–प्रसारका कार्यक्रमहरूलाई सूचना प्रविधिमैत्री र प्रभावकारी बनाउँदै विपक्षीका भ्रमहरू चिर्न समेत यो युवा दस्ता परिचालन हुने संयोजक बुढाथोकीले जानकारी दिए ।
विशेष गरी युवा शक्तिलाई संगठित गर्दै उनीहरूको क्षमतालाई पार्टीको हितमा प्रयोग गर्न यो कदम चालिएको हो। आगामी दिनमा यो समितिले वडा स्तरमा मात्र सीमित नभई टोल स्तरसम्मै आफ्ना गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको छ। गाउँ–गाउँमा चुनावी माहोल सिर्जना गर्न, मतदाता शिक्षा प्रदान गर्न र मतदानको दिनसम्मै पार्टीको पक्षमा जनमत जोगाइराख्न यो ८ सय १ सदस्यीय टोली सक्रिय रूपमा खटिनेछ। युवाहरूको यो ठुलो सहभागिताले रामेछाप काँग्रेसमा नयाँ उत्साह थपेको छ भने चुनावी प्रतिष्पर्धामा आफ्नो पक्षलाई बलियो बनाउने रणनीति अख्तियार गरेको छ।



