मतदान अधिकृत र सहायक अधिकृतहरूका लागि तालिम

रामेछाप । प्रतिनिधि सभा निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउने अभियान अन्तर्गत जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो तयारीलाई तीव्र पारेको छ। यसै क्रममा जिल्लाका विभिन्न दुर्गम तथा सुगम क्षेत्रका मतदान केन्द्रहरूमा खटिने जनशक्तिलाई दक्ष बनाउने उद्देश्यले आयोजित एक दिने अभिमुखीकरण कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ। विशेष गरी जिल्लाको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र खाँडादेवी गाउँपालिकामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको टोलीलाई लक्षित गरी आयोजना गरिएको यो कार्यक्रम निर्वाचन व्यवस्थापनको एक महत्वपूर्ण खुड्किलो सावित भएको छ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले निर्वाचनको सफलता मतदान केन्द्रमा खटिने कर्मचारीको इमानदारिता र कानुनी ज्ञानमा निर्भर रहने कुरामा विशेष जोड दिए । उनले निर्वाचनलाई लोकतन्त्रको प्राणवायुको रूपमा चित्रण गर्दै मतदान अधिकृतहरूलाई राज्यले सुम्पिएको यो ऐतिहासिक जिम्मेवारीलाई उच्च मनोबलका साथ पूरा गर्न निर्देशन दिए । मतदान केन्द्रमा आइपर्ने सानाभन्दा साना प्राविधिक त्रुटिले पनि ठूलो राजनीतिक र कानुनी जटिलता निम्त्याउन सक्छ, त्यसैले मतदान प्रक्रिया, मुचुल्का लेखन, र मतपेटिका सिल गर्ने जस्ता संवेदनशील कार्यमा अत्यन्तै सावधानी अपनाउनु पर्नेछ। कुनै पनि दल वा उम्मेदवारको प्रभावमा नपरी, केवल निर्वाचन ऐन र नियमावलीलाई आफ्नो मार्गनिर्देशक मान्न उनले सहभागीहरूलाई निर्देशन दिए ।
त्यसैगरी, जिल्लाको समग्र शान्ति सुरक्षा र प्रशासनिक समन्वयको पाटोलाई प्रष्ट पार्दै प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले कर्मचारीहरूको सुरक्षा र मनोबल उच्च राख्न स्थानीय प्रशासन हरदम तयार रहेको विश्वास दिलाए । उनले निर्वाचनको समयमा सुरक्षा चुनौतीहरू विभिन्न स्वरूपमा प्रकट हुन सक्ने भए तापनि त्यसलाई चिर्नका लागि जिल्ला एकीकृत सुरक्षा योजना लागू भइसकेको जानकारी दिए । प्रजिअ थापाले संवेदनशील मानिने क्षेत्रहरूमा खटिने कर्मचारीहरूलाई संयमित भएर कार्यसम्पादन गर्न आग्रह गरे । उनले कर्मचारीहरूलाई ढुक्क भएर आफ्नो कार्यक्षेत्रमा जान र कुनै पनि समस्या परेमा तुरुन्त जिल्लास्थित कमाण्ड पोस्टमा सम्पर्क गर्न ढाडस दिए।
सुरक्षा व्यवस्थाकै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले विस्तृत सुरक्षा योजना प्रस्तुत गरे । उनले जिल्लाको भौगोलिक अवस्थिति र विगतका निर्वाचनका अनुभवहरूलाई आधार मानेर सुरक्षा निकायले ’अति संवेदनशील’, ’संवेदनशील’ र ’सामान्य’ गरी मतदान केन्द्रहरूको वर्गीकरण गरेको उल्लेख गरे । डीएसपी भट्टले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई सुरक्षाकर्मीसँगको समन्वय कसरी गर्ने, मतदान केन्द्रको घेराभित्रको सुरक्षा कसरी कायम गर्ने र मतदान प्रक्रियामा अवरोध पु¥याउन खोज्ने तत्वहरूलाई कसरी कानुनी दायरामा ल्याउने भन्नेबारे व्यवहारिक ज्ञान प्रदान गरे । सुरक्षाकर्मीहरू मतदान केन्द्र बाहिर कर्मचारीको सुरक्षा कवच बनेर बस्ने र भित्रको व्यवस्थापन कर्मचारीले नै गर्ने हुँदा दुवै पक्षबीचको बलियो सञ्चारले मात्र निर्वाचन सफल हुने उनको तर्क थियो।
जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेले कार्यक्रमको प्राविधिक पक्ष र निर्वाचन सामग्री व्यवस्थापनका बारेमा प्रकाश पारे । उनले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप र अन्य ६० भन्दा बढी प्रकारका सामग्रीहरूको बुझिलिने र फिर्ता गर्ने प्रक्रियाका बारेमा विस्तृत जानकारी दिए । निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउनु मतदान अधिकृतको प्रमुख दायित्व रहेको र यसमा कुनै पनि प्रकारको सम्झौता नहुने लामिछानेको भनाइ थियो।
अभिमुखीकरणका क्रममा सहभागी कर्मचारीहरूलाई मतदान केन्द्रको निर्माण, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरी महिलाहरूलाई प्रदान गरिने प्राथमिकता, र मतदान पश्चात् मतपेटिकालाई सुरक्षित रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइपु¥याउने विधिका बारेमा प्रयोगात्मक अभ्यास समेत गराइएको थियो।
यो अभिमुखीकरणले कर्मचारीहरूमा देखिएको अन्योलतालाई चिर्दै उनीहरूलाई जिम्मेवारीबोध गराउन सफल देखिएको छ। निर्वाचन २०८२ लाई रामेछाप जिल्लामा एउटा उत्सवको रूपमा मनाउन र जनताको मताधिकारलाई सुरक्षित राख्न सबै सरोकारवाला निकायहरू एकढिक्का भएर अगाडि बढ्ने प्रतिबद्धताका साथ कार्यक्रम समापन भएको थियो। यस प्रशिक्षणले उमाकुण्ड, गोकुलगंगा र खाँडादेवीका मतदान केन्द्रहरूमा खटिने टोलीलाई प्राविधिक र मानसिक रूपमा तयार बनाएको विश्वास गरिएको छ, जसले समग्र जिल्लाकै निर्वाचन परिणामलाई विश्वसनीय र सर्वस्वीकार्य बनाउन मद्दत पु¥याउनेछ।



