बदर मत न्यूनीकरण गर्न वडा–वडामै सहजकर्ता

रामेछाप । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि रामेछाप जिल्लामा मतदाता शिक्षा अभियानलाई तीव्रता दिइएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला निर्वाचन कार्यालयले मतदाताहरूलाई मतदान प्रक्रियाका बारेमा सचेत गराउन र हुनसक्ने गल्तीहरूलाई कम गर्न फागुन ३ गतेदेखि नै विशेष अभियानको थालनी गरेको हो। विगतका निर्वाचनहरूमा देखिएको बदर मतको समस्यालाई यसपटक निकै कम गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम जिल्लाभरि फैलाइएको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार जिल्लाका आठवटै स्थानीय तहका ६४ वटा वडामा एकैसाथ मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो। यसका लागि कार्यालयले प्रत्येक वडामा एक–एक जना दक्ष सहजकर्ता परिचालन गरेको छ। ती सहजकर्ताहरू यतिबेला गाउँगाउँका टोल र घरदैलोमा पुगेर मतदाताहरूलाई प्रत्यक्ष रूपमा मतदान गर्ने सही तरिका सिकाउन व्यस्त छन्। मतदाताहरूलाई मतपत्र प्रयोग गर्ने विधि, सही ठाउँमा छाप लगाउने तरिका र मतदान गर्दा ध्यान दिनुपर्ने प्राविधिक विषयमा जानकारी गराउन नमुना मतपत्र र मत चिह्नको समेत प्रयोग गरिएको छ।
विशेषगरी पहिलोपटक मतदान गर्न लागेका युवाहरू, ज्येष्ठ नागरिकहरू र कम साक्षरता भएका मतदाताहरूलाई लक्षित गर्दै यो अभियानलाई व्यवहारिक बनाइएको छ। सहजकर्ताहरूले मतदाताहरूलाई प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको भिन्नता बुझाउनुका साथै मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता र मतदानको गोपनीयताका बारेमा पनि सचेत गराइरहेका छन्। रामेछाप नगरपालिका–८ की सहजकर्ता मैँया केसी रायले आफ्ना अनुभव सुनाउँदै अधिकांश मतदाताहरूले सिकाइप्रति निकै चासो देखाएको र यसले मतदानका दिन सहजता थप्ने बताईन् ।
फागुन १७ गतेसम्म निरन्तर सञ्चालन हुने यस अभियानले मतदाताहरूलाई मतदान प्रक्रियामा विश्वस्त बनाउने अपेक्षा गरिएको छ। निर्वाचन कार्यालयले यो अभियानलाई केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई एउटा निष्पक्ष, मर्यादित र सफल निर्वाचन सम्पन्न गराउने आधारस्तम्भका रूपमा लिएको छ। मतदाता शिक्षा कार्यक्रममा आम सर्वसाधारणको सक्रिय सहभागिताले नै लोकतन्त्रको यो उत्सवलाई सफल बनाउन सामूहिक योगदान पुग्ने कार्यालयको ठम्याइ छ।


