Trending

रामेछापका १३ जना उम्मेदवारको जमानत जफत

रामेछाप । लोकतान्त्रिक अभ्यासमा निर्वाचन एउटा यस्तो परीक्षा हो, जहाँ जनताले कसैलाई सत्ताको शिखरमा पु¥याउँछन् त कसैलाई सामान्य जमानतसमेत जोगाउन नसक्ने गरी किनारा लगाइदिन्छन्। रामेछाप जिल्ला प्रतिनिधि सभा सदस्यको हालै सार्वजनिक अन्तिम मतपरिणामले ठ्याक्कै यही चित्र देखाएको छ। १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको यस क्षेत्रमा १३ जनाको जमानत जफत भएको छ भने नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले सानदार जित दर्ता गरेको छ।
निर्वाचन आयोगको कानुनी प्रावधान अनुसार, कुनै पनि उम्मेदवारले आफ्नो जमानत जोगाउन कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्छ। रामेछापमा यसपटक कुल ८१ हजार ९९४ मत सदर भएको थियो। जसको १० प्रतिशत अर्थात् ८ हजार १९९ मत ल्याउन नसक्दा १३ जना उम्मेदवारको धरौटी रकम राज्यकोषमा जफत भएको छ। यसले के संकेत गर्छ भने, मतदाताले साना दल र स्वतन्त्र उम्मेदवारभन्दा पनि एजेन्डा र संगठन भएका शक्तिलाई नै प्राथमिकता दिएका छन्।
जमानत जफत हुनेको सूचीमा सबैभन्दा पीडादायी नतिजा उज्यालो नेपाल पार्टीका दिप बहादुर योञ्जनको देखिन्छ। उनले ७ हजार २०१ मत प्राप्त गरे तापनि १० प्रतिशतको ’थ्रेसहोल्ड’ कटाउन करिब १ हजार मतले चुके । यस्तै, राष्ट्रिय राजनीतिमा चर्चामा रहने राष्ट्रिय प्रजातन्त्र पार्टीका गोरे तामाङले जम्मा ५४३ मतमा चित्त बुझाउनु पर्यो भने श्रम संस्कृति पार्टीका ढाल बहादुर खपाङ्गी मगरले १ हजार ३३६ मत प्राप्त गरे। अन्य १० जना उम्मेदवारको अवस्था त झनै नाजुक देखियो, जहाँ कसैले १०० मत पनि कटाउन सकेनन्। बाबु काजी खड्का जस्ता स्वतन्त्र उम्मेदवार २२ मतमा खुम्चिनुले चुनावी लहरमा साना स्वरहरू कसरी हराउँछन् भन्ने पुष्टि गर्छ।
यही जमानत जफतको भीड र पुराना दलहरूको दबदबाबीच राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण हरि बुढाथोकीले भने चामत्कारिक नतिजा निकाले । घण्टी चुनाव चिन्ह लिएर मैदानमा होमिएका बुढाथोकीले २४ हजार ८०८ मतका साथ सानदार विजय हासिल गरे । उनले नेकपा (एमाले) का प्रभावशाली नेता माधव प्रसाद ढुङ्गेललाई ७ हजार १९९ मतान्तरले जिते । ढुङ्गेलले १७ हजार ६०९ मत प्राप्त गर्दा चुनावी प्रतिस्पर्धामा लामो इतिहास बोकेको नेपाली कांग्रेसका रामचन्द्र खड्का १६ हजार ३०७ मतका साथ तेस्रो स्थानमा धकेलिए ।
नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत प्राप्त गरी चौथो स्थान सुरक्षित गरे पनि उनको मतले जितको नजिक पुग्न सकेन। रोचक कुरा के छ भने, विजयी बुढाथोकी सहित एमाले, कांग्रेस र माओवादीका उम्मेदवारले मात्रै आफ्नो जमानत जोगाउन सफल भए।
रामेछापको यो परिणामले नेपाली राजनीतिमा बदलिँदो मतदाताको मनोविज्ञानलाई प्रस्ट पारेको छ। एकातिर १३ जना उम्मेदवारले १० प्रतिशत जनमत समेत बटुल्न नसक्नु र अर्कोतिर नयाँ दलले स्थापित शक्तिहरूलाई ठूलो मतान्तरले पछार्नुले जिल्लाको राजनीतिमा नयाँ युगको सुरुवात भएको संकेत गरेको छ। तामाकोशीको किनारबाट सुरु भएको यो राजनीतिक ’घण्टी’ को आवाजले अबका दिनमा कस्तो विकास र परिवर्तनको लय समात्छ, त्यो भने हेर्न बाँकी नै छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button