Trending

राजिनामा होइन, साहसिक सुधार र वृहत् एकताको नेतृत्व गरौं

आदरणीय गगन कुमार थापाज्यू
 सभापति, नेपाली कांग्रेस

जय नेपाल,

म नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रामेछापको उपसभापतिको हैसियतले यस खुल्ला पत्रमार्फत केही स्पष्ट विचार, सुझाव र अपेक्षाहरू राख्न चाहन्छु।

नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो नेपालको लोकतान्त्रिक आन्दोलन, बलिदान, त्याग र जनविश्वासको गौरवपूर्ण इतिहास बोकेको संस्था हो। यही गौरवपूर्ण इतिहासलाई संरक्षण गर्दै भविष्यतर्फ लैजानुपर्ने जिम्मेवारी आज हामी सबै कांग्रेसजनको काँधमा आएको छ। यही ऐतिहासिक विरासतलाई जोगाउँदै समयअनुसार पार्टीलाई रूपान्तरण गर्नु आजको सबैभन्दा ठूलो जिम्मेवारी बनेको छ।

हालै सम्पन्न निर्वाचनपछि पार्टीभित्र आत्मसमीक्षा, आलोचना र निराशाका स्वरहरू सुनिएका छन्। यस्तो अवस्थामा तपाईंले पार्टी सभापति पदबाट राजिनामा दिने चर्चा चलिरहेको छ। कांग्रेसको भविष्य केवल शीर्ष नेतृत्वको निर्णयले मात्र तय हुँदैन, यो देशभरका लाखौं कार्यकर्ताको विश्वास, योगदान र संघर्षसँग जोडिएको छ। त्यसैले पार्टीलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ पद्धतिबाट अघि बढाउन तपाईंले अग्रणी भूमिका खेल्नुहुनेछ भन्ने विश्वास लिएको छु।

त्यसैले हामी जस्ता जिल्ला तहका कार्यकर्ताहरूको स्पष्ट धारणा के हो भने— यो समय राजिनामाको होइन, बरु अझ दृढतापूर्वक नेतृत्व गर्दै पार्टीलाई सुधार र पुनर्गठन गर्ने समय हो। नेपाली कांग्रेसलाई पुनर्जीवित गर्न अब केवल औपचारिक समीक्षा र भाषणले मात्र पुग्दैन। साहसिक संगठनात्मक सुधार, पार्टीभित्रको वृहत् एकता र स्पष्ट कार्ययोजना आवश्यक छ। त्यसका लागि तपाईंको नेतृत्वमा निम्न कामहरू तत्काल अघि बढाइयोस् भन्ने अनुरोध गर्दछु:

१. पार्टीभित्र वृहत् एकताको अभियान: नेपाली कांग्रेसभित्र देखिएका गुटगत प्रवृत्ति, आपसी अविश्वास र दूरीलाई अन्त्य गर्दै सम्पूर्ण नेताहरू, कार्यकर्ताहरू र विचारधारालाई समेट्ने वृहत् पार्टी एकताको अभियान सुरु गर्न आवश्यक छ। कांग्रेसको शक्ति यसको विविधता र एकतामा निहित छ। सबैलाई एउटै साझा लक्ष्य, पार्टी सुदृढीकरणतर्फ उन्मुख गराउनु आजको आवश्यकता हो।

२. भातृ तथा शुभेच्छुक संगठनहरूको पुनर्गठन: हाल नाममा मात्र सीमित भएका भातृ तथा शुभेच्छुक संगठनहरूलाई पुनर्गठन गर्दै यथाशीघ्र अधिवेशन गराई सक्रिय र जीवन्त बनाउनु आवश्यक छ।

३. क्रियाशील सदस्यताको पुनः नवीकरण र छानबिन: देशभर रहेका क्रियाशील सदस्यतामाथि गम्भीर छानबिन गर्दै वास्तविक र सक्रिय कार्यकर्तालाई मात्र सदस्यता सुनिश्चित गर्नुपर्छ। सदस्यता प्रणालीलाई पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउनुपर्छ।

४. वडा तहदेखि निर्वाचनको गहिरो समीक्षा: हालै सम्पन्न निर्वाचनको समीक्षा वडा तहदेखि सुरु गरेर पालिका, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म व्यवस्थित रूपमा गर्नुपर्छ। प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्य वा प्रदेश कार्यसमितिका सदस्यहरू खटाएर वस्तुगत समीक्षा गराइनुपर्छ।

५. पार्टीलाई प्रविधिमैत्री र डिजिटल बनाउने पहल: समयको मागअनुसार पार्टीलाई क्रमशः डिजिटाइज गर्दै सूचना प्रविधिमा आधारित संगठनात्मक प्रणाली विकास गर्नुपर्छ। पार्टीको सांगठनिक संरचना र सदस्यतालाई पूर्णरूपमा डिजिटलाइज गरी प्रविधियुक्त प्रणालीमा रूपान्तरण गरिनुपर्दछ। यसका लागि पार्टीभित्र डिजिटल व्यवस्थापन तथा प्रविधि विकासका लागि छुट्टै निकाय स्थापना गरिनुपर्दछ।

६. सदस्यता शुद्धीकरणपछि मात्र महाधिवेशन: देशभरका क्रियाशील सदस्यतामाथि निष्पक्ष छानबिन र अद्यावधिक नगरी महाधिवेशन गर्नु उपयुक्त हुँदैन। त्यसैले सदस्यता शुद्धीकरण र संगठन सुदृढीकरणपछि मात्र महाधिवेशन सम्पन्न गरिनुपर्छ।

७. अनुशासनहीनता र दण्डहीनताको अन्त्य: पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता, अवसरवाद र दण्डहीनताको प्रवृत्तिलाई कडाइका साथ अन्त्य गर्दै संगठनमा राजनीतिक संस्कार, अनुशासन र जिम्मेवारीको भावना स्थापित गर्नुपर्छ।

आदरणीय सभापतिज्यू, आज नेपाली कांग्रेस इतिहासकै एक महत्वपूर्ण मोडमा उभिएको छ। यस्तो घडीमा नेतृत्वबाट पछि हट्नु समाधान होइन। राजिनामा भन्दा पनि साहसिक सुधार, संगठनात्मक पुनर्जागरण र पार्टीभित्रको वृहत् एकताको नेतृत्व गर्नु नै आजको आवश्यकता हो।

देशभरका लाखौं कांग्रेस कार्यकर्ताहरूको अपेक्षा तपाईं प्रति जोडिएको छ। त्यसैले यो कठिन घडीमा पछि हट्ने होइन, बरु अझ दृढ भएर पार्टीलाई एकता, सुधार र नयाँ दिशातर्फ अघि बढाउने नेतृत्व तपाईंले गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु। नेपाली कांग्रेसलाई पुनः जनताको पहिलो रोजाइको लोकतान्त्रिक शक्ति बनाउने समय यही हो।

जय नेपाल!

लेख बहादुर कार्की
उपसभापति
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रामेछाप

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button