गन्तव्य टुडेमा प्रकाशित समाचारको प्रभाव : खयर काण्डमा निर्देशनालयले थाल्यो छानबीन

गन्तव्य टुडे दैनिक पत्रिकाबाट डिभिजन वन कार्यालय रामेछापका डिएफओ र खयरका ठेकेदाबीचको अवैध लेनदेनका विषयमा प्रकाशित समाचारको प्रभाव देखिन थालेको छ ।
केही समयअघि ‘घुसको अखडा बन्दै डिभिजन वन कार्यालय रामेछाप, आफैँ घुस खाँदै आफैँ गाडी समात्दै, किलोमा ६ रुपैयाँ हाकिम साहेबलाई भेटी, वनका हाकिम ओमसागर भण्डारीले खयरमा लिएको घुसको फलोअप, कराडेपति बन्ने दौडमा रामेछापका डिएफओ’ लगायतका शीर्षकमा गन्तव्य टुडेले निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो । तिनै समाचारको प्रभाव बल्ल अहिले आएर देखिन थालेको हो ।
समाचारको प्रभावले अहिले वन निर्देशनालय हेटौँडाले घटनाबारे छानबिन थालेको छ । घटना छानबिनको लागि निर्देशनालयले वन अधिकृत नवौँ तहका कर्मचारी रामकुमार भण्डारी र वन अधिकृत आठौँ तहका कर्मचारी गोविन्द अर्याललाई पठाएको हो । घटना छानबिनको लागि रामेछाप आएको वन अधिकृत भण्डारीको टोलीले आइतबार दिउँसो सदरमुकाम मन्थलीस्थित गन्तव्य टुडेको कार्यालयमा आएर समाचारका विषयमा आएका सूचना र प्रमाण विवरणको बारेमा सोधपुछ गरेको थियो । समाचारमार्फत सार्वजनिक घटना र तथ्य बारेमा पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, वरिष्ठ पत्रकार सुमित श्रेष्ठ, गन्तव्य टुडेका सञ्चालक तथा पत्रकार कल्याण बुढाथोकी, कुमार श्रेष्ठ र राष्ट्रिय दलित पत्रकार संघ रामेछापका अध्यक्ष नवराज वि.क. लगायतका पत्रकारसँग सोधपुछ गरेको थियो । सबै पत्रकारले समाचारको यथार्थता र घटनालाई पुष्टि गर्ने आफूसँग भएका तथ्य र प्रमाणहरुको बारेमा बताउँदै रेकर्ड सामाग्रीहरु समेत उपलब्ध गराएका थिए ।
त्यसपछि घटनाबारेमा पत्रकारहरुले देखाएको सक्रीयताको कदर गर्दै वन निर्देशनालय हेटौँडाका वन अधिकृत रामकुमार भण्डारीले समाचारकै कारणले आफूहरु घटनाको छानबिन गर्न आएको बताए । यो विषयमा कुनै उजुरी परेको नभई समाचारमा प्रकाशित विषय वस्तुको आधारमा नै छानबिन गर्नुपर्छ भनेर आफूहरु यहाँ आएको उनले बताए । उनले भने,‘यो घटनाको विरुद्धमा हालसम्म कुनै पनि उजुरी परेको छैन, गन्तव्य टुडे दैनिक पत्रिकाको समाचारमा आएका विषयलाई नै आधार मानेर हामी छानबिनको लागि आएका हौँ, उता गाडी समातिनु यता समाचार आउनु, केही न केही गडबढी त हुनुपर्छ भनेर नै वन निर्देशनालयले पनि यो प्रक्रिया अघि बढाएको हो ।’
अहिले घटनाबारे अध्ययन भइरहेको उल्लेख गर्दै वन अधिकृत भण्डारीले डिभिजन वन कार्यालय रामेछापबाट आवश्यक केही कागजात लिइसकेको र केही कागजातहरु लिन बाँकी रहेको बताए । खयरसँग जोडिएका सबै सरोकारवाला पक्षलाई भेटेर घटनाबारे अध्ययन गरिने उनले जानकारी गराए । अध्ययनपछि प्राप्त तथ्य र आधारलाई समेटेर प्रतिवेदन तयार गरेपछि वन मन्त्रालयलाई पेश गरिने उनको भनाई थियो ।
यो पनि ।